नवौँ राष्ट्रिय खेलकुदः उद्घाटनसहित ८ खेल सुरु हुँदै
बहुप्रतिक्षित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुद शुक्रबारदेखि गण्डकी प्रदेशको राजधानी सहर पोखरालगायतका अन्य जिल्लामा औपचारिक सुरु हुँदैछ । पोखरा रङ्गशालामा अपराह्न ४ः०० बजे हजारौंको उपस्थितिमा भव्य उद्घाटन हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
उद्घाटन समारोहसहित शुक्रबार प्रतियोगिताका विभिन्न ८ खेल सुरु हुँदैछन् । कतिपय खेल यसअगावै सुरु भएर अहिले जारी छन् भने कतिपय असोज २९ देखि सुरु हुने खेलतालिका रहेको छ । टेनिस, बक्सिङ, भलिबल पुरुष, सफ्टटेनिस, बास्केटबल पुरुष र साइक्लिङ पोखरा रङ्गशालामा शुक्रबारदेखि सञ्चालन हुनेछन् । यसैगरी तनहुँमा महिला बास्केटबल, म्याग्दीमा तेक्वान्दो र सुटिङ काठमाडौंमा हुनेछ ।
राष्ट्रिय खेलकुदका ३६ खेलमध्ये क्रिकेट महिला, फुटबल महिला तथा पुरुष, भलिबल महिला, महिला तथा पुरुष ह्याण्डबल, फेन्सिङ, फुल कन्ट्याक्ट कराते, बुद्धिचाल, महिला तथा पुरुष हक्की र गल्फका खेल यसअघि नै सुरु भएका छन् । हालसम्मको पदक तालिकामा विभागीय नेपाली सेनाले अग्रता बनाएको छ । सेना ४ स्वर्ण, ६ रजत र ७ कास्य पदकसहित शीर्षस्थानमा रहँदा बागमती प्रदेशले ४ स्वर्ण र ३ रजत गरी ७ पदक जितेर सेनालाई पछ्याइरहेको छ ।
गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ, मुस्ताङ र लमजुङबाहेकका अन्य ८ जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका खेल सञ्चालन गरिएको छ । खेलकुदको कुम्भमेला राष्ट्रिय खेलुदको अपनत्व सबै प्रदेशवासीलाई गराउने उद्देश्यसहित सबै जिल्लामा कम्तीमा एक खेल खेलाउने योजना रहे पनि मौसम, पूर्वाधारलगायतका कारणले ३ जिल्लामा सम्भव नभएको पश्चिमाञ्चल क्षेत्रीय खेलुकद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए ।
राष्ट्रिय खेलकुदमा ३६ खेल र २ प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एनआएरएनको १ गरी ११ टोलीका ६ हजार १ सय ५७ खेलाडी सहभागी हुँदैछन् । त्यसैगरी प्रशिक्षक, खेल पदाधिकारी र अफिसियल गरी ९ हजार हाराहारीमा प्रतियोगितामा सहभागिता रहने बताइन्छ ।
नेपालमा वि.सं २०३८ देखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो । राष्ट्रिय खेलकुद आयोजनाले ४ दशक पार गरिसकेको छ । हेरक २–२ वर्षमा राष्ट्रिय खेलकुद हुने भए पनि राजनीतिक तथा विभिन्न कारणले सोअनुसार हुनसकेको छैन । राष्ट्रिय खेलुदको पहिलो संस्करण वि.सं २०३८ भदौ २७ देखि असोज ४ सम्म राजधानी काठमाडौंमा भएको थियो । सुरुआतमा देशका १४ अञ्चलको प्रतिनिधित्व हुने गरी प्रतियोगिता सञ्चालन हुने गरेको थियो ।
वि.सं २०४० मा पोखरामा दोस्रो संस्करण हुँदा, वि.सं २०४२ मा तेस्रो संस्करण वीरगञ्जमा भएको थियो । तेस्रो आयोजनाको १३ वर्षपछि वि.सं २०५३ मा नेपालगञ्जमा चौथो संस्करणको राष्ट्रिय खेलकुद आयोजना गरियो । गणतन्त्र स्थापनापछि वि.सं २०६५ मा राजधानी काठमाडौंमा पाँचौँ संस्करण भयो । सुदूरपश्चिममा वि.सं २०६८ मा छैटौँ संस्करणको राष्ट्रिय खेलकुद भएकामा सातौँ संस्करण विराटनगरमा वि.सं २०७३ मा आयोजना गरियो । नेपालगञ्जमा वि.सं २०७५ चैतमा आठौँ राष्ट्रिय खेलकुद भएको थियो । आठौँ राष्ट्रिय खेलकुदको साढे तीन वर्षपछि गण्डकी प्रदेशमा अहिले नवौँ सुरु भएको हो ।
