नवौँ राष्ट्रिय खेलकुदः नेपाली सेना १२ पदकसहित शीर्ष स्थानमा – Sahayogi Man Nepal

नवौँ राष्ट्रिय खेलकुदः नेपाली सेना १२ पदकसहित शीर्ष स्थानमा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका केही खेल यही असोज २३ देखि पोखरामा सञ्चालन भइरहेका छन् । राष्ट्रिय खेलकुद औपचारिकरूपमा असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका ८ जिल्लामा हुँदैछ । समय र पूर्वाधार अभावका कारण केही खेल प्रतियोगिता उद्घाटनअगावै सुरु भएका हुन् ।

पुरुष क्रिकेट प्रतियोगिता यसअघि नै काठमाडौंमा सम्पन्न भइसकेको छ । पोखरामा नवौँअन्तर्गत अहिले महिला क्रिकेट, फेन्सिङ र महिला तथा पुरुष ह्याण्डबल खेल जारी छन् । हालसम्म सात स्वर्णसहित २७ पदकको छिनोफानो भएको छ । फेन्सिङमा छ स्वर्णसहित २४ पदकको टुङ्गो लागेको छ ।

नेपाली सेना हालसम्म पदक तालिकामा शीर्ष स्थानमा रहन सफल भएको छ । आर्मीले २ स्वर्ण, ४ रजत र ६ कास्य गरी १२ पदक प्राप्त गरेको छ । लुम्बिनी प्रदेशमा तीन वर्षअघि सम्पन्न आठौं राष्ट्रियमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको थियो ।

आर्मीकी रमाकुमारी सिंह र इन्द्र पौडेलले फेन्सिङमा स्वर्ण प्राप्त गरेका छन् । यसैगरी बागमती प्रदेश २ स्वर्ण र १ कास्यसहित तालिकाको द्वितीय स्थानमा छ । बागमतीका ओमकार सिंह र शिक्षा नापितले फेन्सिङमा स्वर्ण जिते । सशस्त्र प्रहरीको एपिएफ क्लब १ स्वर्ण, २ रजत र ५ कास्यसहित तेस्रो स्थानमा छ ।

एपिएफका राजेन्द्र गजुरेलले फेन्सिङमा स्वर्ण जिते । सुदूरपश्चिम प्रदेशका जलेन्द्रबहादुर शाहीले फेन्सिङमा स्वर्ण जितेका छन् । सुदूरपश्चिमले १ स्वर्ण र १ कास्य जितेको छ । नेपाल प्रहरीको पुलिस क्लबले पुरुष क्रिकेटमा स्वर्ण जितेको छ । आयोजक गण्डकी प्रदेशले हालसम्म १ कास्य पदक प्राप्त गरेको छ ।

कर्णाली, लुम्बिनी, मधेस, प्रदेश नं १ र एनआरएन हालसम्म पदकविहिन अवस्थामा छन् । राष्ट्रिय खेलकुदमा ३ सय ९२ स्वर्ण, ३ सय ९२ रजत र ६ सय कास्य गरी १ हजार ३ सय ८४ पदकका लागि ७ प्रदेश, ३ विभागीय टोली र एनआएरएनको टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै