आइकाओ महासभामा पर्यटनमन्त्रीले भन्नुभयो : ‘नेपाली आकाश सुरक्षित छ’ – Sahayogi Man Nepal

आइकाओ महासभामा पर्यटनमन्त्रीले भन्नुभयो : ‘नेपाली आकाश सुरक्षित छ’

   September 29, 2022  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ) को ४१औं त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन् ।

क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझावअनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

पर्यटनमन्त्री श्रेष्ठले आइकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अङ्क विश्वव्यापी मापदण्डभन्दा बढी रहेकाले नेपाली आकाश सुरक्षित रहेको उल्लेख गरे । उनले उड्डयन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रतिबद्धता रहेको बताए । नेपालको भू–धरातललाई दृष्टिगत गर्दा हवाई यातायातको विकल्प नभएको मन्त्री श्रेष्ठले उल्लेख गर्दै हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको उल्लखे गर्दै उनले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

यसअघि मन्त्री श्रेष्ठले आइकाओ मुख्यालयमा महासचिव जुआन कार्लोस सालजार र आइकाओ काउन्सिल अध्यक्ष साल्भाटोर साचिटानोसँग भेट गरी नेपालले हवाई सुरक्षा अभिवृद्धिमा उल्लेख्य सुधार गरेकाले इयुले नेपाललाई उडान सुरक्षासूचीमा राखेको औचित्य नरहेको बताएका थिए । आइकाओ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पर्यटनमन्त्री श्रेष्ठ यही असोज ९ गते क्यानडा गएका हुन् ।

महासभामा १९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारी सहभागी छन् ।  आगामी अक्टोबर ७ सम्म चल्ने महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाई यातायात र आर्थिक विकासलगायत उड्डयन नीति, रणनीति तथा यस क्षेत्रमा रहेका समस्या समाधानबारे छलफल हुनेछ ।

आइकाओको महासभामा सदस्य राष्ट्रको निर्वाचनका लागि मतदान हुनेछ । महाशाभामा एभिएशन क्षेत्रको सुधार, सुरक्षा रणनीतिलगायत विषयमा छलफल हुने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डल अक्टोबर ५ मा नेपाल फकिर्ने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै