थप ८ सय १५ मा कोरोना भाइरस सङ्क्रमण, ५ को मृत्यु
देशभर पछिल्लो २४ घण्टामा ८ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण ५ जनाको मृत्यु भएको छ । सो अवधिमा ४ हजार ५ सय ३४ जनाको नमूना परीक्षण गरिएको थियो । २ हजार ४ सय ११ जनाको पिसीआर र २ हजार १ सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा ४ सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७४ हजार २ सय ९५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ६९ छ । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ८२ पुगेको छ । होमआइसोलेशनमा ५ हजार ६ सय ७७, संस्थागत आइसोलेशन १ सय ९२, आइसीयूमा ६० र भेन्टिलेटरमा ८ जना सङ्क्रमित रहेका छन् ।
हाल देशभरमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौं र ललितपुर रहेका छन् भने २ सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा कैलाली र मोरङ छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट र हुम्ला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा २ हजार ९ सय २२, ललितपुर ८ सय ६८ र भक्तपुरमा ८९ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
