विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान
आर्थिक वर्ष २०७८–७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो । तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।
एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै रु १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो । रु १२ खर्बभन्दा बढीको सामान आयात हुँदा रु १ खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थियो ।
नेपालले भारतसँग मात्रै रु १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा व्यहोरेको थियो । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । १ वर्षको अवधिमा चीनबाट रु २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएको र रु ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग रु २ खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको थियो ।
आयातसँगै निर्यात पनि वृद्धि भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको थियो । आव २०७८–७९ मा नेपालले रु २ खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी वस्तु निर्यात गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष नेपालले रु १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख बराबरको निर्यात गरेको थियो । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात २४.७२ र निर्यात ४१.७४ प्रतिशतले वृद्धि भएको छ ।
बढ्यो व्यापार घाटा
आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको होे ।
विभागका अनुसार गत आर्थिक वर्ष मुलुकको व्यापार घाटा रु १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख पुगेको थियो । अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा व्यापार घाटा रु १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख बराबर थियो ।
एक वर्षको अवधिमा नेपालले रु २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । यो अघिल्लो आर्थिक वर्षकोे तुुलनामा २६.१५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष नेपालले रु १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो ।
