नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग
सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गरेका छन् ।
सभामा सोमबारको बैठक सुरुमै दलीय आधारमा बोल्दै नेकपा (एमाले) का सांसद खिमलाल भट्टराइले भने– ‘नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्रुत गतिबाट छिटो टुङ्ग्याउनुपर्छ, राष्ट्रिय सभाबाट छिटोभन्दा छिटो पास गर्नुपर्छ, सरकार यसमा गम्भीर बन्नैपर्छ ।’
सबै राजनीतिक पार्टीको राजनीतिक यात्रा विकासको निम्ति हुनुपर्नेमा जोड दिँदै उनले पछिल्लो समयमा बढदै गएको महँगीको अन्त्य गर्नुपर्ने माग गरे । सङ्घीयतालाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने गरी सरकारले गतिविधि गरिरहेको उनको टिप्पणी गरे ।
रुपन्देदीको तिलोत्तमा नगरपालिकामा आइतबार भएको घटनाबारे आपत्ति जनाउँदै उनले त्यसबारे गृहमन्त्रीको जवाफ माग गरे । उनले सार्वजनिक लेखा समितिको सभापति आफैँले लेखापरीक्षण गरेको भन्दै राजीनामाको माग गरे ।
नेकपा (माओवादी केन्द्र) का सांसद बिना पोखरेलले नागरिकता विधेयक राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएको जनाउँदै नागरिकतासम्बन्धी विधि सरल भए पनि नीति कठोर हुनुपर्ने धारणा व्यक्त गरे ।
उनले भने– ‘नागरिकताको विषयमा छिमेकी मुलुकले गरेको कानुनी व्यवस्था र प्रयोगलाई पनि हेरिनु पर्दछ, नागरिकता प्रदान गर्ने विधि सरल तर नागरिकतासम्बन्धी हाम्रो नीति भने कठोर हुनुपर्दछ ।’
नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले नेपालको परराष्ट्र नीति प्रष्ट र एकरुपता हुनुपर्नेमा जोड दिए । उनले एमसिसीका बारेमा भएका टिका टिप्पणीबारे सरकारको प्रष्ट धारणा बन्नुपर्ने धारणा राखे ।
