नवलपुरमा एमाले २६० र कांग्रेस २०३ पदमा विजयी – Sahayogi Man Nepal

नवलपुरमा एमाले २६० र कांग्रेस २०३ पदमा विजयी

स्थानीय तह निर्वाचन–२०७९ पछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । जिल्लामा सबैभन्दा धेरै जनप्रतिनिधि निर्वाचित गराउँदै एमाले पहिलो पार्टी बनेको हो । ८ स्थानीय तहका ९२ वडा रहेको नवलपुरमा एमालेले जम्मा २६० पदमा जित हासिल गरेको छ ।

एमालेले ३ नगरपालिकामा प्रमुख–उपप्रमुख दुवै पद, ३ गाउँपालिकामा अध्यक्ष र २ गाउँपालिका उपाध्यक्षमा जित निकालेको छ । त्यस्तै ४८ वडामा वडाध्यक्ष, ९९ खुला सदस्य, ५१ महिला सदस्य तथा ५१ जना नै दलित महिला सदस्य एमालेका तर्फबाट निर्वाचित भएका छन् । नवलपुरमा एमालेका ५४.६२ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका छन् ।

जिल्लामा नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेस २०३ जनप्रतिनिधि निर्वाचित गराउँदै जिल्लामा दोस्रो ठूलो पार्टी बनेको हो । नवलपुरमा कांग्रेसले एउटा नगरपालिकामा नगरप्रमुख–उपप्रमुख दुवै पद, एउटा गाउँपालिका अध्यक्ष तथा २ गाउँपालिका उपाध्यक्षमा जित निकालेको छ ।

जिल्लाका ४१ वडामा कांग्रेसका तर्फबाट वडाध्यक्ष, ८० खुला सदस्य, ३८ महिला सदस्य तथा ३९ दलित महिला सदस्य निर्वाचित भएका छन् । जिल्लाका स्थानीय तहमा कांग्रेसको जनप्रतिनिधिको उपस्थिति ४२.६५ प्रतिशत रहेको छ । जिल्लामा नेकपा (माओवादी केन्द्र) ले २ वडाध्यक्ष, २ महिला सदस्य र १ दलित महिला सदस्य गरी जम्मा ५ जनप्रतिनिधि मात्रै जितेको छ ।

यहाँको स्थानीय तहमा माओवादी केन्द्रका जनप्रतिनिधिको उपस्थिति एक प्रतिशत मात्रै रहेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लामा एउटा वडाध्यक्ष, ४ खुला सदस्य, १ महिला सदस्य र १ दलित महिला सदस्य गरी ७ जनप्रतिनिधि जितेको छ ।

राप्रपाको जिल्लाका स्थानीय तहमा उपस्थिति १.४७ प्रतिशत रहेको छ । त्यसैगरी नवलपुरमा राष्ट्रिय जनमोर्चाले १ खुला सदस्य जितेको छ भने जिल्लाको स्थानीय तहमा राष्ट्रिय जनमोर्चाको उपस्थिति ०.२१ प्रतिशत रहेको छ ।

पालिका प्रमुखमा १ मात्रै महिला

जिल्लाका ८ पालिकामध्ये एउटा पालिकामा मात्रै प्रमुखका रुपमा महिला निर्वाचित भएकी छिन् । नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षमा मात्रै महिलाको नेतृत्व पुगेको हो । यहाँ नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी लक्ष्मीदेवी पाण्डे गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी हुन् ।

जिल्लाका अन्य स्थानीय तहको उपप्रमुख–उपाध्यक्षमा भने महिला निर्वाचित भएका छन् । ८ स्थानीय तह रहेको नवलपुरमा एउटा गाउँपालिका अध्यक्ष, ७ पालिका उपप्रमुख–उपाध्यक्ष र ३ वडाध्यक्षमा महिला निर्वाचित भएका हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै