नगरप्रमुख रेनु दाहालकाे २ महत्वपूर्ण निर्णय, भरतपुरवासीलाई निःशुल्क खानेपानी र १ लाख बराबरको छोरी बिमा
भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गरेकी छिन् । महानगरभित्रका बासिन्दालाई मासिक ७ हजार लिटर खानेपानी निःशुल्क र रु १ लाख बराबरको छोरी बिमा कार्यक्रमको निर्णय गरिएको छ ।
पहिलोपटक प्रमुख हुँदा उनले भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र ज्येष्ठ नागरिकका लागि बहिरङ्ग सेवा टिकट निःशुल्कको निर्णय गरी दिएकी थिइन् । दाहालले यो निर्णयले महानगरवासी लाभान्वित हुने बताइन् । महानगरभित्रका झण्डै ५२ प्रतिशत जनताले आजैदेखि निःशुल्क खानेपानी पाउने भएका छन् ।
यसका लागि वार्षिक रु २ करोड ५० लाख हाराहारी खर्च हुने महानगरको अनुमान छ । महानगरभित्र खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ता समितिमार्फत खानेपानी वितरण गरिँदै आएको छ । बोर्डका ३५ हजार ग्राहक छन् । बोर्डका प्रमुख प्रजापति दाहालका अनुसार २५ भन्दा बढी उपभोक्ता समितिमार्फत महानगरमा खानेपानी वितरण गरिँदै आएको छ ।
महानगरका ९० प्रतिशत जनताले सरकारी निकायबाट वितरण गरिएको स्वच्छ खानेपानी उपभोग गर्दै आएका छन् । महानगरले आज बुधबार गरेको दोस्रो निर्णयमा महानगरपालिकामा स्थायी बसोबास गर्नेहरूबाट जन्मिएका छोरीका लागि रु १ लाखको जीवन बिमा गरिने भएको छ ।
महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पहिलो वर्ष १ हजार ७ सय ५० जनाको बिमा हुने अनुमान छ । सरकारी स्वास्थ्य संस्थामा जन्मीएका छोरीहरूले यो अवसर प्राप्त गर्नेछन् । राष्ट्रिय बिमा संस्थानमार्फत बिमा गर्न लागिएको हो । १ जनालाई वार्षिक रु ३ हजार ३ सय महानगरपालिकाले १५ वर्षका लागि बुझाउने छ ।
१५ वर्षपछि ती छोरीले रु १ लाख पाउने गरी बिमा गर्न लागिएको हो । अर्यालका अनुसार आउँदो १५ वर्षमा २६ हजार २ सय ५० जनाले सुविधा लिने अनुमान गरिएको छ । पदभार ग्रहणसँगै दाहालले महानगरवासीले आफ्नो अघिल्लो कार्यकालका कामलाई अनुमोदन गरेको भन्दै पहिलो प्राथामिकतामा अधुरा काम रहेको बताए ।
उनले भनिन्– ‘भरतपुर महानगरपालिकालाई देशका अन्य पालिकाले सिको गर्ने बनाउँछौं ।’ महानगरवासीलाई निरास हुन नदिने भन्दै उनले सबैको राय–सुझाव लिएर काम गर्ने बताए । महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासीका आवश्यकता आफूहरूले बुझेको उल्लेख गर्दै सोहीअनुरुपका योजना अघि बढाइने बताइन् । उनले भनिन्– ‘अबको ५ वर्षमा भरतपुरलाई देशकै सुन्दर सहर बनाइने छ ।’
