भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी – Sahayogi Man Nepal

भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी

भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले पराजित गरेकी छिन् ।

दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गरेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी छ । यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे ।

दाहाल वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित भएकी थिइन् । वि.सं २०३३ असार २३ गते भरतपुर महानगरपालिका–१४ भीमसेन नगरमा जन्मीकि दाहाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की माहिली छोरी छन् ।

नेपाली, हिन्दी र अङ्ग्रेजी भाषा बोल्न जान्ने दाहाल वि.सं २०६४ जेठ १५ गतेदेखि २०६९ जेठ १४ गतेसम्म तत्कालीन संविधानसभा सदस्य थिइन् । हाल अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको महासचिव, वि.सं २०७४ देखि २०७५ सम्म नेकपा (माओवादी केन्द्र) पोलिटब्यूरो सदस्य, वि.सं २०६१ देखि २०६३ सम्म नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला सहइन्चार्ज भएर काम गरीसकेकी छिन् ।

यस्तै वि.सं २०६४ देखि २०७२ सम्म नेपाल कम्युनिष्ट पार्टी माओवादी काठमाडौं सेक्रेटरी, अखिल भारत नेपाली महिला सङ्गठनको अध्यक्ष, जनयुद्धको भूमिगतकालमा प्रवास (भारतका विभिन्न प्रान्तहरूमा पार्टीको सेक्रेटरी र महिलाको जिम्मेवारी वहन गरेको) तथा देशको विकट ग्रामीण क्षेत्रमा सङ्गठनात्मक काममा सक्रिय रहेकी थिइन् ।

भरतपुर महानगरपालिकाको उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङलाई २२ हजार १ सय ९१ मतान्तरले पराजित भएका छन् । अधिकारीले ५२ हजार ८ सय ३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६ सय १२ मत प्राप्त गरे ।

अधिकारी नेपाली कांग्रेस भरतपुर महानगर समितिको सभापति छन् । वि.सं २०२४ मा जन्मेका अधिकारीको विद्यार्थी राजनीतिबाट राजनीतिक यात्राबाट सुरु भएको हो । वि.सं २०४२ मा अन्नपूर्ण माध्यामिक विद्यालय पार्वतीपुरबाट सुरु भएको उनको राजनीतिकयात्रा क्याम्पस कमिटीमा सक्रिय भई अहिले महानगरमा कांग्रेसका तर्फबाट उपप्रमुखमा निर्वाचित बनेका छन् ।

वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं २१ को वडाध्यक्षमा निर्वाचित अधिकारी यसअघि महानगरमा कांग्रेसको दलको नेताका रूपमा रेका थिए । वि.सं २०४६ को आन्दोलनमा गिरफ्तारीदेखि वि.सं २०६२–६३ मा सक्रिय सहभागिता जनाएका नेता अधिकारी वि.सं २०५४ मा साविक पार्वतीपुरमा कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचत थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै