नेपाल बार एसोसिएशन निर्वाचन: अध्यक्षमा गोपालकृष्ण घिमिरेको अग्रता कायमै – Sahayogi Man Nepal

नेपाल बार एसोसिएशन निर्वाचन: अध्यक्षमा गोपालकृष्ण घिमिरेको अग्रता कायमै

नेपाल बार एसोसिएशनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ ।

घिमिरेले हालसम्म गणना भएका मध्ये ९०५ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले ४४७ मत प्राप्त गरेका छन् । नेपाल बार एसोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार हालसम्म १३ केन्द्रको मतगणना सम्पन्न भएको छ ।

तीमध्ये सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगढी, सिरहा, बारा, सुर्खेतको मतगणना सम्पन्न भएको हो । हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ । महासचिवमा हालसम्म अन्जिता खनालले ८१३ र केदारप्रसाद कोइरालाले ५३१ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा भरतबहादुर राउतले ८७० र जगतबहादुर कार्कीले ४८६ मत प्राप्त गरेका छन् । मङ्गलबार बिहानदेखि मतगणना सुरु भएको थियो भने बेलुका स्थगित गरेर बुधवार ९ बजेदेखि पुनः मतगणना प्रारम्भ गरिएको हो । बारको यही चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा ९ हजार ७ सय ८ मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा ५ हजार ७ सय र उपत्यकाबाहिर ३ हजार ५ सय मतदाता रहेका थिए । ७ हजार ४ सय २९ मत मात्र खसेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै