त्रिकोणात्मक टी–२० क्रिकेट श्रृङ्खलाको उपाधि नेपाललाई – Sahayogi Man Nepal

त्रिकोणात्मक टी–२० क्रिकेट श्रृङ्खलाको उपाधि नेपाललाई

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले जितेको छ । दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको हो ।

ऐरीले अविजित ५४ रन बनाउनुका साथै महत्वपूर्ण ४ विकेटसमेत लिए । केसीले अविजित ३३ रनको योगदान दिनुका साथै पपुवा न्युगिनीका ३ खेलाडीलाई पवेलियन फर्काए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रेको थियो ।

नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अद्र्धशतकीय पारी खेले । उनले ५४ रन बनाउने क्रममा ३८ बलको सामना गर्दै ५ चौका प्रहार गरे ।

यस्तै करन केसीले १२ बलको सामना गर्दै १ छक्का र ५ चौका प्रहार गरे । आशिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहमद आदिल आलमले १५ रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका सेमो कमेआले ३ तथा ४ सुपर, कबुवा मोरिआ र रिले हेकुरेले १–१ विकेट लिए ।

१०० सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनीको पारी १ सय १८ रनमा समेटियो । पपुवा न्युगिनीलाई जिताउन सेसे बाउ अन्तिम समयसम्म सङ्घर्षरत रहे । उनले ३८ बलको सामना गर्ने क्रममा ६ छक्का र १ चौका प्रहार गर्दै सर्वाधिक ५९ रन बनाए ।

चाल्र्स अमिनीले १५ रन बनाउनु बाहेक पपुवा न्युगिनीका अरु कुनै पनि खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् । प्रारम्भिक खेलाडीद्वय लेगा सिका र असाद भालाले ८–८ रन मात्र बनाउन सके ।

बलिङतर्फ नेपालका ऐरी र केसीका साथै कप्तान सन्दिप लामिछानेले समेत २ विकेट लिए । ऐरीले निकै नै किफायती बलिङ गरे । उनले ४ ओभरमा १८ रन मात्र खर्चिए । यस्तै केसीले ३ ओभरमा २७ रन तथा लामिछानेले ४ ओभर बलिङ गर्दै २५ रन दिए ।

नेपाल, पपुवा न्युगिनी र मलेसिया सहभागी त्रिकोणात्मक टी–२० श्रृङ्खलाको ‘प्लेयर अफ दी सिरीज’ नेपालका ऐरी घोषित भए । उनले प्रतियोगिता अवधिभर ५ खेलमा २ सय ५५ रन बनाउनुका साथै ७ विकेटसमेत लिए । ऐरी सोमवारको फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ समेत भए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै