नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधवार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २०.३४ अङ्कले घटेर २ हजार ६३०.३६ मा पुगेको छ । नेप्सेको गिरावटसँगै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.२२ अङ्कले ओरालो लागेर ४९५.११ मा आएको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको बुधवारको बजारमा कूल २२६ कम्पनीका ३९ लाख ८५ हजार ५ सय ७४ कित्ता शेयर रु २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५ सय ४७ मा खरिद विक्री भएका छन् । बुधवार कारोबार भएका १३ उपसमूहमध्ये २ उपसमूहका शेयर मूल्यमा वृद्धि देखियो भने ११ उपसमूहको शेयर मूल्य भने ओरालो लाग्यो ।
जसमा व्यापार १२.७७ र सामूहिक लगानी कोष ०.०४ अङ्कले बढेका छन् । बैंकिङ ९.१३, होटल तथा पर्यटन १९.८६, विकास बैंक ५२.५८, जलविद्युत् ३६.३९, वित्त ३४.५३, निर्जीवन बीमा ७९.५३, उत्पादन ७६.२१, अन्य २२.२१, लघुवित्त २०.७५, जीवन बीमा १२६.३१ र लगानी ०.८१ अङ्कले घटेका छन् । कारोबारका आधारमा बुधवार एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ ।
यो कम्पनीको कूल रु ८ करोड ४१ लाख ९४ हजार ६ सय ३९ रकम बराबरको कारोबार भयो । जीवन विकास लघुवित्त रु ८ करोड ४० लाख २३ हजार ३ सय ३६, अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको रु ८ करोड १७ लाख १९ हजार २ सय २४, नेपाल दूरसञ्चार कम्पनी रु ७ करोड ६० लाख ७६ हजार ९ सय ६८ र अपी पावर कम्पनीको रु ६ करोड १० लाख ५१ हजार २ सय १२ मूल्य बराबरको कारोबार भई शीर्ष ५ स्थानमा रहे ।
नेप्सेका अनुसार, राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको बुधवारको बजारमा इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सनराइज बैंककोे ऋणपत्र ४.०४ एनआइबीएल प्रगति फण्ड ३.११ र नविल बैंकको ऋणपत्र २.९२ प्रतिशतले बढेका छन् ।
