साफ यू–१८ महिला च्याम्पियनशीप फुटबल प्रतियोगितामा : नेपाल र बङ्गलादेश भिड्ने
भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले बुधवार बङ्गलादेशसँग खेल्दैछ । भारतको जमसेदपुरस्थित जेआरडी टाटा कम्प्लेक्समा नेपालले बलियो टोली बङ्गलादेशको सामना गर्दै प्रतियोगिताको समापन गर्नेछ ।
नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समयानुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ । बुधवार बङ्गलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ तर बङ्गलादेशलाई पराजित गर्न सजिलो भने छैन । च्याम्पियनशीपको पहिलो भेटमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो ।
नेपाल उक्त हारको बदला लिन चाहन्छ भने बङ्गलादेश आफ्नो जितलाई कायम राख्न चाहन्छ । नेपाल, भारत र बङ्गलादेश सहभागी उक्त च्याम्पियनशीपमा नेपालले लगातार ३ खेलमा पराजय भोगेको छ । नेपाल भातरसँग ७–०, बङ्गलादेशसँग ४–२ र भारतसँग पुन ५–१ गोलअन्तरले पराजित भएको छ ।
३ खेल खेलेको भारतले ३ खेलमा नै विजयी हुँदै ९ अङ्क जोडेको छ । भारत अङ्क तालिकाको शीर्ष स्थानमा छ । २ खेल खेलेको बङ्गलादेशले ३ अङ्क जोडेको छ । बङ्गलादेश अङ्क तालिकाको दोस्रो स्थानमा छ ।
अङ्क विहीन रहेको नेपाल भने अङ्क तालिकाको अन्तिम स्थानमा छ । डबल राउण्ड रोविनको आधारमा जारी उक्त च्याम्पियनशीपको शीर्ष टोलीले उपाधि जित्नेछ ।
