हल्का वर्षा र हिमपातको सम्भावना
मौसमी प्रणालीको प्रभावले मङ्गलबार देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका १–२ स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भू–भागका १–२ स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले बताएकाे छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार मङ्गलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.३ डिग्री र अधिकतम तापक्रम १८.० डिग्री सेल्सियस रहेको छ । त्यस्तै मङ्गलबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम –४.२ डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम २४.४ डिग्री सेल्सियस रहेको छ ।
