मौसम आइतबार देखि सुधार हुने
पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आइतबारदेखि सुधार हुने भएको छ । देशभर आइतबार आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रदेश नं १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । सोमबार प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रही देशका मध्य तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री र अधिकतम तापक्रम १३.० डिग्री सेल्सियस छ । त्यस्तै आइतबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम -३.३ डिग्री र सबैभन्दा धेरै डोटीको दिपायलको अधिकतम तापक्रम १९.३ डिग्री सेल्सियस छ ।
