सिरहाको मिर्चैया नगरपालिकाबाटै राहदानी सेवा
सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ । मेयर श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरू गरेका हुन् ।
‘अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक–पटक धाउनुपर्ने बाध्यता हटेको छ’, मेयर यादवले भने– ‘आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने छौँ ।’
उनकाअनुसार बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ । स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन् ।
नागरिकलाई सहज होस् भनेर जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सो कार्यालयबाट प्राप्त राहदानी पालिकाबाट नै वितरण सुरु गरेको उनले बताए ।
