२४ वटा नमूना परीक्षण गर्दा सबै ओमिक्रोन भेरिएन्ट – Sahayogi Man Nepal

२४ वटा नमूना परीक्षण गर्दा सबै ओमिक्रोन भेरिएन्ट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढिरहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सविवी १.१६ देखिएकाले नेपालमा पनि संक्रमण बढिरहेको जानकारी दिएका छन् ।

संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निर्वाह गर्न उनले आग्रह गरेका छन् । उनले रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्न र गराउन सबै सरोकारवाला निकायलाई आग्रह गरेका हुन् ।

उनका अनुसार यही चैत महिनामा २४ वटा नमूना परीक्षण गरिएकामा २४ वटैमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो ।

सोअनुसार ओमिक्रोन विए १.१ दुइटा, ओमिक्रोन विए दुइटा, ओमिक्रोन विए २.७६ एउटा, ओमिक्रोन विए ५ दुइटा भेरियन्ट फेला परेका हुन् ।  त्यस्तै ओमिक्रोन विए ५.२ दुइटा, ओमिक्रोन एक्सविवी १.१६ दश वटा, ओमिक्रोन एक्सविवि १.५ तीन वटा, ओमिक्रोन एक्सविवी २.६ एउटा र ओमिक्रोन एक्सविएफ एउटा फेला परेका छन् ।

कोभिड–१९ महामारी अझ पनि पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन । खोप, जनस्वास्थ्यका मापदण्डलगायत बहुक्षेत्रीय संयन्त्रको संयुक्त सहकार्यबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारले जटिलता हुनबाट जोगाउने अवस्था रहेको छ, मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सोमबार ७६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै