प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ : प्रहरी प्रवक्ता – Sahayogi Man Nepal

प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ : प्रहरी प्रवक्ता

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताए । पद थप गर्दा प्रहरी कर्मचारीको सेवा सुविधामा भिन्नता ल्याउनुका साथै प्रहरीको मनोवल उच्च बनाएको उनको भनाइ छ ।

प्रहरी प्रधान कार्यालयमा मङ्गलबार आयोजित पत्रकार भेटघाट एवं अन्तक्रिर्या कार्यक्रममा उनले पछिल्लोपटक प्रहरी नियमावली संशोधन गरी थप गरिएका ३ पदले २० वर्षदेखि एउटै पदमा बसेर काम गर्ने प्रहरी कर्मचारीलाई थप उर्जा मिलेको बताए । ‘यसले प्रहरी कर्मचारीमा वृत्तिविकासको अवसर समानरूपमा पाउनुका साथै एउटै पदमा लामो समय बस्नुपर्ने अवस्थालाई अन्त्य गरेको छ’– केसीले भने ।

प्रहरीमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ प्रहरी निरीक्षकको पद थप गरिएको हो । ५ वर्ष काम गरेका प्रहरी जवानलाई सहायक हवल्दार, प्रहरी हवल्दारलाई वरिष्ठ प्रहरी हवल्दार र प्रहरी नायब निरीक्षकलाई वरिष्ठ प्रहरी नायब निरीक्षकमा पदोन्नति गर्ने गरी उक्त नियमावली संशोधन गरिएको हो ।

कार्यालय सहयोगीमा भने ५ तह रहने गरी प्रहरी नियमावलीमा थप गरिएको प्रवक्ता केसीले बताए । ३ तह थप गरेर प्रहरी नियमावली संशोधन गरेसँगै हाल रहेको जनशक्तिमा अब प्रहरी सहायक हवल्दारमा ३३ प्रतिशत, वरिष्ठ प्रहरी हवल्दारमा २५ प्रतिशत र वरिष्ठ प्रहरी नायब निरीक्षकमा ३३ प्रतिशत बढुवा हुने भएको छ । हाल नेपाल प्रहरीमा प्रहरी जवानमा ४७ हजार ५३, प्रहरी हवल्दारमा १४ हजार ९ सय ८९ र प्रहरी नायब निरीक्षकमा ४ हजार २९६ जनशक्ति कार्यरत छन् ।

प्रहरीमा यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने प्रहरी नायब उपरीक्षकसम्मका प्रहरी कर्मचारीलाई अवकाश हुनुभन्दा १ महिना अगाडि नै स्वतः बढुवा दिने व्यवस्था गरिएको थियो । अब भने ८ वर्षसम्म एउटै पदमा बसेर अवकाश जाने प्रहरीलाई स्वतः १ तह बढुवा दिने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाले प्रहरी कर्मचारीमा आत्मवल र हौसला मिलेको प्रवक्ता केसीले बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै