सिन्धुपाल्चोकमा मल अभाव हुँदा किसान चिन्तामा – Sahayogi Man Nepal

सिन्धुपाल्चोकमा मल अभाव हुँदा किसान चिन्तामा

सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् । ‘खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ’, इन्द्रावती–१२ का अबिन्द्र दनुवारले दुःखेसो पोखे ।

उनी जस्तै जिल्लाका अधिकांश किसानले युरिया मल नपाउँदा हैरान पाएका छन् । मल नहाली धान उत्पादन नहुने हुनाले किसान खेती लगाउने कि नलगाउने दोधारमा पर्न थालेका छन् । यतिबेला किसानलाई गहुँ र तोरी तथा अन्य हिउँदे बालीका लागि ठूलो परिमाणमा युरिया मल आवश्यक छ ।

किसानले समयमै मल, बीउबिजन, कृषि औजार तथा उपकरणसमेत नपाउने अवस्था छ । खेतीको समयमा मल तथा बीउ अभाव सामान्य भइसकेको छ । ‘दिनभरि लाइनमा बस्यो अन्तिममा २–४ किलो मात्रै मल पाइन्छ । हामीलाई २ देखि ४ बोरा मल चाहिएको छ’, इन्द्रावती–११ का उज्जर माझीले भने– ‘त्यति मल त करेसाबारीको सागलाई मात्रै पुग्छ ।’

हिउँदमा आलु, गहुँ, तोरी तथा जौँलगायत खेती गर्ने समयमा सधैभरी मल अभाव हुने गरेको उनको गुनासो छ । मल किन्न बिहानैदेखि सहकारी संस्था कुरेर बस्नुपर्ने किसानको दैनिकी नै बनेको छ । यसरी किसानले समयमै मल र बीउ नपाउने समस्या नयाँ होइन । यो समस्या हरेक वर्ष देखिँदै आएको छ ।

तर सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिँदा किसान मारमा परेका छन् । खेतीबारीमा व्यस्त हुने किसान दिनभर मलको खोजीमा भौँतारिरहेको भेटिन्छन् । ‘यो वर्ष जसोतसो गरेर गहुँ छरियो । तर मल छैन । मल हाल्ने समय पनि बितिसक्यो । धेरै दिन खोज्न पनि गइयो तर पाइएन’, मेलम्ची–१० का खिलप्रसाद दाहालले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै