दशैंलाई सहकारीका खसीबोका – Sahayogi Man Nepal

दशैंलाई सहकारीका खसीबोका

   September 30, 2022  

सडकमा हिमालपारिका खसी भरिभराउ छन् । बजारमा हिमालपारिका खसी (च्याङ्ग्रा) किन्ने भीड देखिन्छ । मुस्ताङबाट आएका च्याङ्ग्राको सामान्य मूल्य रु ४५ हजारभन्दा माथि नै छ । मध्यम परिवारले समेत प्रयोग गर्न नसक्ने गरी महँगिएको च्याङ्ग्राको मूल्यले यहाँका कतिपय गाउँसँग भने साइनो राख्दैनन् ।

बागलुङका ग्रामीण क्षेत्रका किसानको सक्रियतामा गठन भएका सहकारी र कृषक समूह आफैंले खसीबोका उत्पादन गर्छन् । समूह र सहकारीका सदस्यलाई चाहिने खसीबोका राखेर बाँकी बिक्री गर्छन् र दशैं खर्च चलाउँछन् । दशैंलाई लक्षित गरेर समूह तथा सहकारीहरूले स्थानीय जातको बसीबोका खरिद–बिक्री सुरु गरेका छन् ।

चाडपर्वमा हुने मासुको खपतलाई पूर्ति गर्न सहकारीले संस्थामा आवद्ध सेयर सदस्यले उत्पादन गरेका खसीबोका एकीकृत गरी बजारीकरण थालेका हुन् । पशुवस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानहरूको संस्था सवलीकरण परियोजनाअन्तर्गत गठन भएका सहकारीहरूले हरेक वर्ष दशैं र तिहारलाई लक्षित गरी स्थानीय जातका खसीबोका खरिद बिक्री गर्दै आएको परियोजनाको बजार सहजकर्ता रीतादेवी शर्माले जानकारी दिए ।

यो वर्ष बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामको वसन्त सामाजिक उद्यमी महिला सहकारीले ६०५, वसन्त सामाजिक महिला उद्यमी सहकारीले छ सय, जैमिनी नगरपालिका–३ को रुद्रताल सहकारीले ७२५, भाग्यदय सहकारीले ४७५, पर्वतको फलेवास नगरपालिका–१० को हराभरा सामाजिक महिला उद्यमी सहकारीले ७५०, महाशिला गाउँपालिका–६ को सक्रिय सामाजिक महिला उद्यमी सहकारीले ७१० खसीबोका बिक्री गर्ने लक्ष्य छ ।

पर्वतको महाशिला गाउँपालिका–८ को पैयुकोट सामाजिक उद्यमी महिला सहकारीले ८८०, फलेवास नगरपालिका–८ को ठानामौला सामाजिक महिला उद्यमी सहकारीले ३९०, बरपाण्डेथुम सहकारी संस्था कास्कीले ३५५, मिजुरे सहकारी संस्था कास्कीले ८४५ वटा खसीबोका बिक्री गर्ने योजना छ ।

‘सेयर सदस्यसँग खसीबोका सङ्कलन गरेर बजार पठाउन थालेका छौँ’ वसन्त सामाजिक महिला उद्यमी सहकारी संस्थाका प्रबन्धक हेमा विकले भने– ‘दशैंको दुई दिनमा ३३५ वटा विक्री गरेका छौं ।’ सहकारीले नै बजारको खोजी गर्ने हुँदा कृषकलाई बजारीकरणको चिन्ता छैन ।

कृषकले पालेका खसीबोका सहकारीको माध्यस्तमार्फत बिक्री हुन थालेपछि बाख्रापालक कृषक उत्साहित छन् । ‘हामीलाई बजारको चिन्ता छैन’, कृषक तंग्रामकी मनकुमारी पुनले भनिन्– ‘जति भए पनि सहकारीले खरिद गरेर बिक्री गरिदिन्छ ।’ चाडपर्वमा मात्रै होइन अन्य समयमा समेत यहाँका किसानले राम्रो खसीबोका उत्पादन गर्ने गरेका छन् ।

हिमाली च्याङ्ग्राको मूल्यवृद्धिका कारण स्थानीय जातका खसीबोकाको माग अत्यधिक बढेको किसानहरू बताउँछन् । उत्पादन लागत र बजार मूल्यको हिसाब गर्दा हुने मुनाफाबाट किसान सन्तुष्ट छन् । ‘पहिले बजार खोज्दै जानुपथ्र्यो, अहिले ग्राहक घर–घरमा आउन थालेका छन्’, विकले भने– ‘हिमाली क्षेत्र र तराई भागबाट आउने खसीबोका कम हुँदा स्थानीय उत्पादनले बजार पाएको छ ।’

सहकारीले आफ्ना सदस्यसँग २५ किलोसम्मको खसी रु ५ सय १० मा खरिद गरी रू ५ सय २० मा र २५ किलोमाथिका खसीकोका प्रतिकेजी रु ५ सय ५० मा खरिद गरी रु ५ सय ६० मा बिक्री गर्दै आएका छन् । गैरसरकारी संस्था विवाइसी बागलुङले स्थानीय व्यवस्थापनमा सञ्चालित हेफर इन्टरनेशनलको साना किसान सवलीकरण परियोजनाअन्तर्गत गठित तीन जिल्लाका सहकारीमा ६ हजार २ सय ७८ जना सेयर सदस्य आबद्ध छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै