२ वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला शुक्रवारदेखि सुरु – Sahayogi Man Nepal

२ वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला शुक्रवारदेखि सुरु

हरेक वर्ष चैते दशैंको समयमा मनाइने विक्रमबाबा मेला शुक्रवार देखि सुरु भएको छ । कोरोना कहरका कारण विगत २ वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला शुक्रवार देखि सुरु भएको हो । निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा पूजाआजा गरी परेवा उडाएर औपचारीक रुपमा मेलाको सुरुआत गरिएको छ ।

केरुङ्गा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेलका अनुसार २ वर्षसम्म रोकिएको मेला सुरु भएसँगै भक्तजनको चाप बढेको छ । आगामी वैशाख ३ गतेसम्म लाग्ने विक्रमबाबा मेलामा केरुङ्गा उपभोक्ता समिति र पटिहानी उपभोक्ता समितिले पूजाको व्यवस्थापन गर्ने छन् भने घैलाघारी सामुदायिक वनले पार्किङ्को व्यवस्थापन गर्ने छ ।

पटिहानी उपभोक्ता समितिका उपाध्यक्ष कृष्णहरि शर्माले विक्रमबाबा मेलामा आउने भक्तजनको चापलाई मध्यनजर गर्दै व्यवस्थापनको काम गरिएको बताए । २ वर्षदेखि हुन नसकेको मेला अहिले हुन लाग्दा भक्तजनको चाप बढ्ने अनुमान गरिएको उनले बताए ।

उनले भने– ‘यसवर्ष मेला भर्न वा पूजा गर्न आउने भक्तजनको सङ्ख्या ५ लाख हुने अनुमान गरेका छौं ।’ पूजा व्यवस्थापनका लागि १० सदस्यीय समिति बनाइएको उनले जानकारी दिए । मन्दिरमा पूजा गर्नका लागि बिहान ६ बजे देखि साँझ ५ बजेसम्म समय तोकिएको छ ।

साँझ ५ बजेपछि जङ्गली जनाबरको चहलपहल हुने भएकाले सो समय निर्धाारण गरिएको उनको भनाइ छ । मेला सञ्चालन गर्न आउने व्यवसायीलाई साँझ ६ बजेपछि व्यवसाय बन्द गर्न लगाइने घैलाघारी सामुदायिक वनका अध्यक्ष लीलाराज भुषालले बताए ।

मेला व्यवस्थापनका लागि १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको उनले जानकारी दिए । ८ वटा उपसमिति निर्माण गरी मेला व्यवस्थापनको काम गरिएको छ । उनले भने– ‘सामुदायिक वन क्षेत्रभित्र दिउँसोमा पार्किङ र मेलाको व्यवस्थापन गरिए पनि साँझ ६ बजेपछि मेला बन्द गर्ने गरी निर्णय गरेका छौं ।’

भरतपुरतर्फबाट गएका र माडीतर्फबाट आउने सवारीलाई निकुञ्ज बाहिर पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । राप्ती पुलबाट करिब २ किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेषगरी थारु जातिमा प्रचलनमा रहेको छ ।

विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् । सन्तान प्राप्ति र सुखलगायत मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरिएको पाइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै